सवाल

साढे ४ हजार बचतकर्ताको रकम हिनामिना प्रकरणमा सहकारीका उपध्यक्षसहित ५ जना पक्राउ

 बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो।

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेनु कार्कीले जानकारी दिइन्।

‘लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ। अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो,’ उनले भनिन्।

नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

‘सोमबार सबैजनाको एकै पटक पुनः म्याद गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ। सम्भवतः यससम्बन्धीको नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ,’ इन्स्पेक्टर कार्कीले भनिन्।

आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए। बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो। 

महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ। पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुन्।

बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन। उनीहरुको परिवारले एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ।

बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन्।

विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो। जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button