समाचार

१४ महिनापछि बढ्न थाल्यो व्यापार, औद्योगिक कच्चा पदार्थ र विद्युतीय सामानको आयात बढ्यो 

गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात चालु वर्षको असोजमा मात्रै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (असोज मसान्तसम्म) मा १.६९ प्रतिशत आयात बढेको छ।

मासिक तथ्यांक अनुसार अघिल्लो असोजको तुलनामा यो असोजमा एकैपटक ११ प्रतिशतले आयात बढेको छ। यो उल्लेखनीय वृद्धि हो। 

गत वर्षको असोज एक महिनामा एक खर्ब २७ अर्ब रूपैयाँको आयात भएको थियो। चालु वर्षको असोज महिनामा एक खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ।

औद्योगिक कच्चा पदार्थ र विद्युतीय सामग्री र त्यसका पाटपुर्जाको आयातमा उच्च वृद्धि भएको छ। यसले समग्र आयात बढेको हो।

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको तीन महिनामा सबैभन्दा बढी खनिज तथा पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा ७३ अर्ब ५२ करोड यस्तो सामान आयात भएको छ। तर, यो गत वर्षको भन्दा ६.४ प्रतिशतले कम हो। 

खनिज तथा पेट्रोलियम पदार्थको आयात गत वर्षदेखि नै घट्दो क्रममा छ। उद्योगहरू पूर्ण रुपमा सञ्चालनमा नरहेका कारण पनि पेट्रोलियम पदार्थको आयात कम भएको मानिएको छ। अर्को तर्फ जलविद्युत्को खपत बढ्दै जादा पेट्रोलको खपत घट्दो देखिएको छ। 

खनिज र पेट्रोलियम पदार्थबाहेक अन्य औद्योगिक कच्चा पदार्थको आयात क्रमिक रुपमा बढिरहेको छ। कच्चा फलाम तथा स्टीलको आयात ९.२१ प्रतिशतले बढेको छ। गत वर्ष तीन महिनामा ३१ अर्ब १० करोडको फलाम तथा स्टिलको आयात भएकोमा यो वर्ष बढेर ७८ अर्ब २२ करोड पुगेको छ। यही कारण तयारी फलाम तथा फलामजन्य सामाग्रीको आयात घटेको छ। तीन महिनाको अवधिमा यस्ता सामानको आयात ५५ प्रतिशतले घटेर पाँच अर्ब एक करोड मात्रैको भएको छ। 

त्यस्तै विद्युतीय मेसिनरी उपकरण र त्यसका पाटपुर्जाको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष २६ अर्ब ६४ करोडको यस्तो वस्तुको आयात भएकोमा यो वर्ष बढेर २९ अर्ब ७६ करोड पुगेको छ। यस्ता सामानको वृद्धिदर १०.५ प्रतिशतको छ। यसले आगामी दिनमा उद्योगको उत्पादन बढ्ने अनुमान लगाउन सकिन्छ। सवारी साधन र त्यसका पाटपुर्जाको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष तीन महिनामा जम्मा १५ अर्ब २६ करोडको यस्ता वस्तुको आयात भएकोमा अहिले बढेर १९ अर्ब नौ करोड पुगेको छ।

बजारमा माग कम भएको गुनासो व्यवसायीहरूले गरिरहेको समयमा कपडा तथा स्मार्ट फोनको आयात भने उल्लेख्य वृद्धि भएको छ। चालु वर्षमा नबुनेका कपडाको आयात ४६ प्रतिशले र बुनेका कपडाको आयात २६ प्रतिशतले बढेको छ। गत वर्ष ७ अर्ब ६० करोडको बुनेका र नबुनेका कपडाको आयात भएकोमा यो वर्ष बढेर १२ अर्ब ८३ करोडको आयात भएको छ।

औषधीको आयात उच्चले घटेको छ। चालु वर्षको तीन महिनामा औषधीको आयात मात्रै ३१.७ प्रतिशले घटेको छ। गत वर्ष तीन महिनामा १३ अर्ब ७२ करोडको औषधीको आयात भएकोमा १० अर्ब ४२ करोडको आयात भएको छ। नेपाली औषधी उद्योगको उत्पादन बढेकोले पनि आयात बढेको देखिन्छ। 

औषधीको निर्यातमा भने सामान्य गिरावट आएको छ। गत वर्ष ७६ करोड रूपैयाँको औषधी निर्यात भएकोमा यो वर्ष ६९ करोडको निर्यात भएको छ। 

आयातमा आएको उतारचढावलाई तुलना गर्दा नेपाली उत्पादनले थेग्ने क्षेत्रमा आयात घटेको देखिन्छ। औद्योगिक कच्चा पदार्थको रूपमा आयात हुने सामानको भने आयात बढेको छ। यसले स्वदेशी उत्पादनमा वृद्धि भएर अर्थतन्त्रलाई लाभ पुग्ने विश्लेषण गर्न सकिन्छ।

मासिक आयातमा आएको परिर्वतन (प्रतिशतमा)
साउन २०७९-१२.९
भदौ, २०७९-१३.१
असोज, २०७९-२२.३
कात्तिक, २०७९-२३.३
मंसिर, २०७९-२९.८
पुस, २०७९-२०.५
माघ, २०७९-१४.६
फागुन, २०७९-१३.७
चैत, २०७९-९.४
वैशाख २०८०-३
जेठ, २०८०-८
असार २०८०-१६.८
साउन, २०८०-१.५
भदौ, २०८०-८.२९
असोज, २०८०११

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button