समाचार

किवी खेतीबाट १५ लाख जोगाए इन्द्रबहादुरले

रोल्पाको जिनवाङका ६० वर्षीय इन्द्रबहादुर खत्री भर्भराउँदो उमेरमा रोजगारीका लागि भारत गएका थिए। हिमाञ्चल प्रदेशस्थित कृषि विश्वविद्यालयको फार्ममा काम गरे।

त्यहीँ हो इन्द्रबहादुरले पहिलो पटक किवीको व्यावसायिक खेती देखेको। उनले आफ्नो गाउँठाउँमा यसै गरी किवीको खेती गर्न पाए हुन्थ्यो भन्ने सोचे। आजभोलि भन्दाभन्दै उनले त्यहाँ आठ वर्ष काम गरे। 

हिमाञ्चल प्रदेश र उनको गाउँ जिनावाङको वातावरण लगभग मिल्दोजुल्दो थियो। हिमाञ्चलको किवी रोल्पामा पनि गज्जब फल्छ भन्ने विश्वास थियो।इन्द्रबहादुर कृषि फार्ममा काम गर्ने साधरण कामदार थिए तर उनले इमानदारी र मिहिनेतका कारण विश्वविद्यालयका कर्मचारी र विज्ञको मन जितेका थिए। यसै कारणले त्यहाँका कृषिविज्ञ डा. कृष्णकुमारले इन्द्रबहादुरलाई भान्से बनाए। दुई जनाबीचको सम्बन्ध गढा हुँदै गयो। 

एक दिन इन्द्रबहादुरले किवी खेतीबारे कृष्णकुमारलाई आफ्नो मनको कुरा सुनाए। उनी रोमाञ्चित भए अनि रोल्पा जाने इच्छा प्रकट गरे। 

4-1698559658.jpeg

त्यो समय जिनावाङ आउजाउ गर्न मोटर बाटो थिएन। भारतबाट विज्ञसहितको टोली रोल्पा आउजाउ गर्न निकै ठूलो खर्च लाग्थ्यो। कृष्णकुमारले सोधे– यहाँबाट तिम्रो गाउँसम्म आउजाउ गर्ने खर्च जुटाउन सक्छौ? 

इन्द्रबहादुर त्यसरी खर्च गर्न सक्दैथे। कृष्णकुमारले जुक्ति फुराए, कृषि क्षेत्रमा काम गगर्ने संस्था खोजे। जिनावाङकै पूर्वशिक्षक टीका प्रधानले प्रस्ताव तयार गरेर संस्थामा पुर्‍याउन सहयोग गरे। 

एउटा संस्थाले एक लाख रुपैयाँ सहयोग गर्‍यो। त्यही खर्चले इन्द्रबहादुर र कृष्णकुमारसहितको एक टोली जिनावाङ पुगेर अनुसन्धान गर्‍यो। जिनावाङमा किवी खेतीका लागि उच्च सम्भावना देखियो। इन्द्रबहादुर खुसी भए। 

यसरी ३२ वर्षअघि २०४८ सालमा इन्द्रबहादुरले हिमाञ्चलबाट किवीका बिरुवा जिनावाङ पुर्‍याए। उनले विज्ञको सल्लाहअनुसार मिहिनेत गरे। फल लाग्न थाल्यो। कमाइ हुन थाल्यो। 

त्यही समय तत्कालीन नेकपा माओवादी र सरकारबीच सशस्त्र द्वन्द्व सुरु भयो। इन्द्रबहादुर नेपाली कांग्रेसमा अस्था राख्थे। उनीमाथि दिनप्रतिदिन सुरक्षा चुनौती बढ्यो। एक दिन उनलाई ज्यानकै धम्की आयो। श्रीमती ओकी खत्रीले घर छाड्न सल्लाह दिइन्। इन्द्रबहादुर दाङको तुलसीपुर पुगे। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका–३ को वडाध्यक्ष पदमा उम्मेदवार थिए। 

गाउँबाट विस्थापित हुनुपरेपछि इन्द्रको किवी खेती भताभुंग भयो। शान्ति प्रक्रिया सुरु भएपछि २०६३ सालमा उनी गाउँ फर्केर फेरि किवी खेती जगाउन थाले।

अहिले उनको बारीमा किवीका केही हजार बोट छन्। यस वर्ष पहिरोले झन्डै एक हजार नष्ट गरिदियो। 

उनको किवी खेती तीन ठाउँमा छ। घरबारीमा आठ सय बोट छन्। अलिक माथि अर्को ठाउँमा दुई सय बोट र त्रिवेणी गाउँपालिको एक ठाउँमा दुई हजार बोट छन्। सबै बोटमा लटरम्म फल लागेको छ। 

उनका अनुसार काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगरसम्मका व्यापारी किवी किन्न उनको बारीमै आउँछन्। उनको खेतीमा किवी टिप्ने समय हुनै लागेको छ। राम्ररी छिप्पिएपछि मात्रै टिप्छन्।

‘व्यापारीहरू त कलिलैमा पनि किन्न खोज्छन् तर म छिप्पिएपछि मात्रै टिप्छु। बोट ठेक्काम दिने गरेको छैन। आफैँ टिपेर बेच्छु,’ उनले भने। 

उनले एउटा सानो कोल्डस्टोर (शीतभण्डार) पनि बनाएका छन्। मंसिरमा टिपेको किवी भण्डारण गरेर जेठसम्म बेच्छन्। 

‘अरूले आजभोलि केजीको एक–डेढ सयमा बेच्छन्। म अहिले टिप्दिनँ। मंसिरमा टिप्छु र कोल्ड स्टोरमा राखेर जेठसम्म केजीको दुई सयदेखि साढे दुई सयसम्ममा बेच्छु,’ इन्द्रबहादुर भन्छन्, ‘मेरो जम्मै किवी दाङमै खपत हुन्छ। व्यापारीहरू घरमै आएर उठाएर लैजान्छन्।’ 

व्यापारीहरूले दसैँ–तिहारका लागि २० क्विन्टल किवी मागेका थिए। कलिलै छ भनेर उनले दिएनन्। 

‘समय नपुग्दै टिपेको फलमा गुणस्तर हुँदैन,’ उनी भन्छन्, ‘फाइदा मात्रै हेरेर हुँदैन। असल किसानले उपभोक्तालाई असल वस्तु दिनु पर्छ।’

4-1698559658.jpeg

उनले किवीसँगै ओखर, कागती, हलुवाबेद र टिमुर पनि लगाएका छन्। इन्द्रबहादुर लुम्बिनी प्रदेशकै सबैभन्दा ठूला व्यावसायिक किवी कृषक हुन्। कुल १०५ रोपनीमा खेती छ। उनको परिवारको मुख्य पेशा नै किवी खेती हो। उनले गत वर्ष १२० क्विन्टल किवी बेचेर कम्तीमा १५ लाख रुपैयाँ बचत गरे। खेतीमा परिवारका सबै सदस्य तल्लीन छन्। हेरचार, गोडमेल, फलको सुरक्षा, भण्डारण लगायतमा ज्यालामा कामदार लगाउँछन्। 

उनले किवी र ओखरको नर्सरी पनि बनाएका छन्। उनका अनुसार नर्सरीमा हाल १५ हजार बिरुवा छन्। बिरुवा प्रतिगोटा १०५ रूपैयाँमा बेच्छन्। ओखरका चार हजार बिरुवा छा्। 

इन्द्रबहादुरकै कारण रोल्पामा किवी खेती विस्तार हुने क्रममा छ। रुन्टीगडी गाउँपालिकाले पाँच सय वटा बिरुवा लग्यो। अन्य जिल्लाका कृषकहरू पनि उनको नर्सरीमा बिरुवा किन्न आउँछन्। 

भन्छन्, ‘अर्घाखाँची र गुल्मीका सबै किसान मेरै नर्सरीमा आउँछन्। अरू जिल्लाका पनि आउँछन्।’

कामले काम सिकाउँछ भनेझैँ हाल इन्द्रबहादुर किवी खेतीका विज्ञका रूपमा चिनिएका छन्। उनलाई कृषकहरूले बोलाउँछन्। जिल्लाका कृषि कार्यालयहरूले प्रशिक्षकका रूपमा निम्ता गर्छन्। सल्यान कृषि विकास कार्यालयले त उनैलाई प्रशिक्षक तोकेको छ।

सल्यानको बागचौर नगरपालिका र क्षेत्रश्वरी गाउँपालिकामा इन्द्रकै रेखदेखमा किवी खेती सुरू भएको छ। उनी किसानलाई किवी खेतीको तालिम दिन्छन्। उनका जेठा छोरा बालराम हाल बेलायतमा कृषिको तालिममा छन्। उनी स्ट्रबेरी खेती सिक्दै छन्। कान्छा छोरा डिल्लीले स्नातक तहको पढाइ पूरा गरेका छन् र हाल किवी खेतीमै व्यस्त छन्।

जिनवाङ विकट पहाडी भूभाग हो। यहाँ किवी खेती गर्न इन्द्रबहादुरले चानचुने मिहिनेत गरेका छैनन्। किवीको बोटलाई सहारा दिन सिमेन्टका खम्बा बनाएका छन्। लहरा बिस्तारका लागि तारको पातलो जाली बनाएर सहारा दिएका छन्। 

‘आम्दानी लिन खर्च पनि हुन्छ, मिहिनेत पनि गर्नुपर्छ। मिहिनेतलाई दुःख ठान्यो भने खेती हुँदैन। हरेक वर्ष मेरो आम्दानी बढ्दै छ,’ उनले भने। 

रोल्पामा इन्द्रबहादुर अनुकरणीय कृषक भएका छन्। हावापानी र माटो चिनेर मिहिनेत गर्न सक्दा आम्दानी लागि विदेशी भूमिममा वर्षौं पसिना बगाउनु पर्दैन भन्ने उदाहरण भएका छन्। 

उनका अनुसार सामान्यतया किवी जातअनुसार समुद्री सतहबाट आठ सय मिटरदेखि २४ सय मिटरको उचाइसम्म फल्छ। उनको ठाउँ एक हजार ८९० मिटर हारहारी उचाइमा छ। यस्तो ठाउँ किवीको लागि उपयुक्त मानिन्छ। 

उनका अनुसार यो उचाइमा एलिसिना र हेवार्ड जातको किवी राम्रो हुन्छ। आठ सयदेखि एक हजार मिटको उचाइमा रेड प्रजातिको किवी राम्ररी फल्छ। 

सामान्यतया एक बोटमा कम्तीमा सय केजीसम्म किवी फल्छ। वर्षमा एक पटक गोडमेल गर्नुपर्छ, एक पटक मल दिनुपर्छ। आफैँले बनाएको कम्पोस्ट मल उपयुक्त हुन्छ। 

‘किवी स्वास्थ्यको लागि निकै हितकर फल हो। यसको जुस, जाम, वाइन, अचार बनाउन सकिन्छ। चाना सुकाएर पनि उपयोग गर्न सकिन्छ,’ इन्द्रबहादुर भन्छन्, ‘हावापानी उपयुक्त भएर पनि खेर गएका सबै ठाउँमा किवी खती गरेर आम्दानी लिन सकिन्छन्।’ 

IMG_0174-1698559812.jpeg

उनी किवीको वाइन बनाउन चाहन्छन् तर यसका लागि उनीसँग लगानी गर्ने पैसा छैन। उनले विनोद चौधरी लगायत केही उद्योगीलाई भेटर कुरा गरेको उनले बताए।  

भन्छन्, ‘किवीको वाइन बनाउने उद्योग हुने हो भने नेपाली किसानले उत्पादन गरेको किवी नै पर्याप्त हुन्छ।’

इन्द्रबहादुरको किवी खेतीसम्म जान सडकको राम्रो सुविधा छैन। ट्याक्टर चल्छ। अरू गाडी पुग्न सकस छ।  

जिनावाङसहित लुम्बिनीका पहाडी जिल्लाको कृषिका बारेका जिज्ञासा राख्दा मुख्यमन्त्री डिल्लीबहादुरले रोल्पालाई लुम्बिनीको कृषि हबका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए। 

‘कृषि उत्पादनलाई ध्यानमा राखेर बाटो पुर्‍याउँछौँ,’ मुख्यमन्त्री चौधरी भन्छन्, ‘किसानमा उत्साह थप्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ।’ 

प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिर जिनावाङको मोडेल हेरेर प्रदेशको कृषि नीति बनाउनुपर्ने आफ्नो धारणा रहेको बताउँछन्।

उनले रोल्पाको जिनावाङलाई आलु, स्याउ, किवी र पशुपालनका लागि पकेट क्षेत्र बनाउने सोच रहेको बताए। 

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button