समाचार

साढे तीन वर्षपछि नेपाली आकाशमा फर्कियो ‘थाइ एयरवेज’, यस्तो छ इतिहास

नेपालमा अन्तर्राष्ट्रिय उडानको इतिहास रच्ने थाइ एयरवेजले फेरि नियमित उडान थालेको छ।

कोभिडका कारण करिब साढे तीन वर्षदेखि बन्द रहेको थाइ एयरवेजले आइतबारबाट ‘न्यारो-बडी ए ३२०’ जहाजमार्फत नियमित उडान थालेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार बैंककबाट एक सय २५ जना यात्रु लिएर आएको थाइ एयरवेज दिउँसो ३ः०३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। साथै काठमाडौंबाट एक सय ६४ जना यात्रु लिएर ४ः२३ मा बैंककका लागि उडेको हो।

योसँगै थाइको नियमित उडान सुरू भएको छ।

थाइले बैंकक-काठमाडौं-बैंकक सातामा सातै उडान सुरू गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनका अनुसार विगतमा थाइ एयरवेजले वाइड-बडी जहाजमार्फत सातामा १४ वटा उडान गर्थ्यो।

थाइको उडानसँगै बजारमा प्रतिस्पर्धा बढ्ने उनले बताए।

‘अर्को मुलुकमा ट्रान्जिट हुने लामो दुरीका हवाइ यात्राको भाडा पनि सस्तो हुन्छ,’ उनले भने।

थाइ एयरवेजले नेपालमा उडान नियमित थालेसँगै थाइ स्माइलले भने उडान रोकेको छ। थाइ स्माइलले २०७९ असार १७ बाट नियमित उडान थालेको थियो। बैंककमा मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाइ स्माइल थाइ-एयरवेजकै भगिनी कम्पनी हो।

‘३१ अक्टोबरसम्म थाइ स्माइलले उडान गर्ने त्यसपछि बन्द हुने कुरा थियो। नोभेम्बर १ बाट थाइ एयरवेजले नियमित उडान थाल्ने तयारी भए पनि व्यावसायिक योजनाअनुसार प्राधिकरणको प्रक्रिया पूरा गरेर थाइ एयरवेजले अक्टोबरबाटै उडान सुरू गरेको हो,’ सूचना अधिकारी भुलले भने।

यसअघि नेपाल एयरलाइन्स, थाइ स्माइल र थाइ लाइनले बैंकक-काठमाडौं नियमित उडान भरिरहेका थिए। थाइ एयरवेज आएपछि पनि तीनवटै एयरलाइन्सले नियमित उडान गर्ने भएका हुन्।

नेपालका लागि थाइ एयरवेजको आधिकारिक कम्पनी जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल छ। यसले कुल १७४ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान सुरू भएको हो। यसअघि थाइ स्माइलले पनि सातामा सातवटै उडान गरिरहेको थियो।

प्राधिकरणका अनुसार थाइ लाइनले र नेपाल एयरलाइन्सको न्यारो-बडी जहाजले काठमाडौं-बैंकक सातामा तीन उडान गरिरहेका छन्।

थाइ एयरवेज नियमित उडानका लागि फेरि फर्किनु मुलुकको उड्डयन क्षेत्रका लागि सुखद भएको सूचना अधिकारी भुलले बताए।

प्राधिकरणका अनुसार थाइ एयरवेज सन् १९६८ मा, अर्थात् ५५ वर्षअघि नेपालमा जेट विमानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गर्ने कम्पनी हो। वायु सेवा निगम (तत्कालीन समयमा शाही नेपाल वायु सेवा निगम) भन्दा दुई वर्षपछि यो एयरलाइन्स स्थापना भएको थियो।

स्थापना भएको आठ वर्षपछि थाइ एयरवेजले सन् १९६८ डिसेम्बर ४ मा बैंकक-काठमाडौं पहिलो उडान गरेको थियो।

‘अन्तर्राष्ट्रिय जेट विमानले नेपालमा पहिलोपटक उडान भरेको यो नै पहिलो थियो,’ भुलले भने।

त्यसअघि सन् १९५३ मा एयर इन्डियाले पनि उडान नगरेको होइन। तर उक्त उडानमा जेट विमान थिएन। त्यस्तै त्यो चार्टर्ड उडान भएकाले नेपालमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सूचीमा यो नपर्ने भुल बताउँछन्।

नेपाली आकाशमा पहिलो पटक थाइ एयरवेजको अन्तर्राष्ट्रिय उडान हुँदा नेपालीहरूमा खुसी छाएको पनि भुल बताउँछन्। थाइ एयरवेजले दस वर्षसम्म सातामा एक उडान गरिरह्यो। यो कम्पनीले उडान भरिरहँदा लामो समयसम्म अन्य एयरलाइन्सले उडान गर्न सकेनन्। गन्तव्य मुलुकमा जानेहरूका लागि थाइ एयरवेज प्राथमिकतामा परेको थियो।

यात्रु संख्या बढ्दै गएपछि कम्पनीले दैनिक उडान सुरू गर्‍यो। पहिलो उडान सुरू गरेको दस वर्षपछि, सन् १९७७ मा थाइ एयरवेजले पुरानै गन्तव्यका लागि ए ३००-८०० विमानमार्फत दैनिक उडान थालेको थियो। यसले सातामा दस उडानसम्म गरेको अभिलेख छ।

‘समय तालिकाअनुसार नियमित उडान गर्नमा थाइ एयरवेज नम्बर एक थियो,’ सूचना अधिकारी भुलले भने, ‘यात्रु संख्या पनि सधैंजसो ९० प्रतिशत माथि हुन्थ्यो।’

यसरी दुई दशक लामो समय थाइ एयरवेजले राज नै गर्‍यो।

प्राधिकरणको अभिलेखअनुसार थाइ एयरवेजले नै नेपालमा पहिलोपटक कम्प्युटरमार्फत टिकट रिजर्भ गर्ने प्रणाली सुरू गरेको थियो। सन् १९८५ मा सुरू गरेको यो प्रणाली पाँच वर्षपछि उसले टिकट ट्राभल एजेन्टहरूलाई दियो।

यो एयरलाइन्ससँग सिल्क क्लास लाउन्ज, आफ्नै ग्राउन्ड ह्यान्डलिङ सिस्टम र होलिडे प्याकेजहरू थिए। यसले पनि थाइ एयरवेजलाई आकर्षक बनाएको थियो।

तर सन् १९९२ थाइ एयरवेजका लागि दु:खद वर्ष रह्यो। उक्त वर्ष जुलाई ३१ मा थाइ एयरवेजको विमान दुर्घटना भएको थियो। बैंककको सुवर्णभूमि विमानस्थल (तत्कालीन डोन मुआङ एयरपोर्ट) बाट काठमाडौं उडेको विमान नुवाकोटको घ्याङफेदीमा खस्यो। दुर्घटनामा चालक दलका सदस्यसहित एक सय १३ जनाले ज्यान गुमाए।

दुर्घटनापछि कम्पनीले नेपाल उडान रोक्यो। त्यति बेलै नेपाली आकाशमा कतार एयरवेज थपियो। थाइ एयरवेज नेपाल भित्रिएको करिब २७ वर्षपछि कतार एयरवेजले उडान सुरू गरेको थियो। सन् १९९५ देखि कतार एयरवेजले नियमित उडान थालेको हो।

सन् १९९८ मा आएर थाइ एयरवेजलाई फेरि नेपालको आकाशमा उड्ने बाटो खुल्यो। नेपाल सरकारले पर्यटन प्रर्वद्धनका लागि सन् १९९८ लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। दुर्घटनापछि रोकिएको थाइ एयरवेजको यात्रा नेपाल भ्रमण वर्षसँगै फेरि सुरू भयो।

करिब ६ वर्षपछि थाइ एयरवेज ‘बी ७७७-२००’ विमानमार्फत नेपालमा पुनः उडान थाल्यो। बीचमा अवरोध आए पनि थाइ एयरवेजले ५२ वर्षसम्म नेपालमा उडान गर्‍यो।

कोभिड फैलिएपछि २०७६, चैत ११ बाट नेपालमा लकडाउन भयो। हवाइ उडान बन्द भयो। यही महामारीले थाइ एयरवेजलाई पनि थलायो। थाइल्यान्डकै अन्य वायुसेवाले नियमित उडान थालेपनि थाइ एयरवेज नियमित जोडिन सकेको थिएन। यसकै भगिनी संस्था थाइ स्माइलले नेपालमा उडान सुरू गरेको थियो।

एक वर्ष बढी समय नियमित उडान गरेको थाइ स्माइलको यात्रा तत्कालका लागि रोकिएको छ। यही गन्तव्यमा व्यवासायिक उडानको इतिहास रच्ने थाइ एयरवेजको यात्रा भने नियमित भएको छ।

सम्बन्धित समाचारहरु

छोडियो कि ?
Close
Back to top button