समाचार

भण्डारण गरी राखिएको १ करोड बढीको माला बरामद, वैधताबारे अनुसन्धान गर्दै प्रहरी

रूपन्देही एक गोदामबाट ठूलो परिमाणमा फूलका माला बरामद भएको छ।

रूपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका-८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो।

कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको फूलका माला भारतबाट भन्सार छलेर ल्याइएको आकलनमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।

तिहारलाई लक्षित गरी जिल्लाका किसानहरूले उत्पादन गरेको फूल बारीमै कुहिने अवस्थामा पुग्दा कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा फूलका माला बरामद भएको हो।

यसबारे प्रहरीले कोल्ड स्टोर सञ्चालक लक्ष्मीदास मानन्धरसँग सोधपुछ समेत गरेको छ। रूपन्देहीका डिएसपी मनोहर भट्टका अनुसार मानन्धरले जिल्लाकै फूल किसानहरूले उत्पादन गरेको फूल उनीहरूकै आग्रहमा भण्डारण गरेर राखिएको बताएका छन्।  

जिल्लाका फूल उत्पादक किसानहरूबाट भने कोल्ड स्टोरमा फूल भण्डारण गरेर राखिएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।  

 जिल्लाकै किसानहरूको हो भन्ने पुष्टि नभएकाले प्रहरीले उक्त फूल अवैध तरिकाले नेपाल भित्रिएको आकलन गरेको छ। त्यसबारे थप अनुसन्धान भइरहेको डिएसपी भट्टले बताए।  

 ‘वैध हो वा अवैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न,’ उनले भने।

कोल्डस्टोर संचालकले यी मालाहरु अन्य समयमा जस्तै व्यापारीहरुसँग भाडा लिएर राखिदिएको दावी गरेको प्रहरी नायव उपरिक्षक भट्टले बताए।

‘मानन्धरजीको कोल्डस्टोरमा माला मात्रै होईन फलफुलहरु समेत राखिएको थियो, उहाँले भाडा लिएर राख्ने गर्नुहुँदो रहेछ हामीले माला राख्ने व्यापारीहरुलाई प्रमाण लिएर आउन भनेका छौं,’ भट्टले भने।

स्थानीयका अनुसार उक्त फूलका माला छुटाउन प्रहरीलाई राजनीतिक दवाबसमेत दिइएको बताइएको छ। फूलको अवैध आयातकर्ताहरुले राजनीतिक पहुँचको दुरूपयोग गर्दै प्रहरीलाई दवाब दिने गरेको र त्यताबाट सम्भव नभएपछि रातारात फूलखेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास समेत भइरहेको पाइएको छ।

रूपन्देहीकै किसानले माला भण्डारण गरेको दाबी मानन्धरले गरेपनि रुपन्देही र यस आसपासमा एकै किसानबाट यति ठूलो परिमाणमा फूलखेती नभएको कारण ती व्यापारी फूल किसानहरुको खोजीमा रहेको स्रोतले बताएको छ।

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button